Monday, September 3, 2018

अवैध पंक्षिजन्य वस्तु पैठारी विरुद्ध प्रहरी


नेपालगन्ज १८ भाद्र । 

        भारतबाट बाँकेमा अवैध रुपमा पंक्षिजन्य वस्तु पैठारी गर्नेहरुलाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले पक्राउ गरि पशु क्वारेन्टाईन कार्यालय नेपालगन्जमा बुझाइएकाहरुबाट यसवार्षको पहिलो डेढ महिनामै २ लाख ९६ हजार जरिवाना असुल भएको छ । जबकी गत आर्थिक वर्षमा वर्षभरि ६ लाख ६६ हजार ५ सय रुपैयाँ जरिवाना असुल भएको थियो ।
       पशु क्वारेन्टाईन कार्यालयका सुचना अधिकारी तिलक आचार्य पहिलो डेढ महिनाको रेकर्डले प्रहरीको सक्रियता बढेको देखिएको बताउछन । यसवर्षको हालसम्म १ हजार ८ सय ८७ कुखुरा र ७ हजार ९ सय ६० चल्ला अवैद्य पैठारी गर्ने २७ जनालाई जरिवाना गरिएको हो । तर, कुखुरा व्यवसायि किसानहरु पक्राउ परकोभन्दा अझै ठुलो परिमाणमा कुखुरा भित्रिरहेको बताउँछन् । त्यसो हुनुमा खुला सिमानासँगै भारतिय क्षेत्रमा सस्तो मुल्यमा पाईनु मुख्य कारण रहेको आचार्यको भनाई छ ।
      यसैबिच, पछिल्लो दुई दिनमा प्रदेश ५ प्रहरीको टोलीले ७६ कुखुरासहित ३ जनालाई पक्रेको छ । ५ नं. प्रदेश प्रहरी कार्यालय दांगको टोलीले आज भारतबाट भित्र्याउँदै गरेको ३७ वटा कुखुरा र ओसारपसारमा प्रयोग भएको २ थान मोटरसाईकलसहित जानकि गाउँपालीकास्थीत सिपुरा नजिकबाट खजुरा गाँउपालीका वडा नं ७ का प्रेम केसी र जगत रानालाई पक्राउ गरेको छ ।
   उनीहरुलाई २०÷२० हजार रुपैया जरीवाना तिराएर छोडिएको छ । हिजो पनि प्रदेश प्रहरीले ४० वटा कुखुरा सहित खजुरा गाउँपालीका ४ का हेमन्त थापालाई पक्राउ गरी बीस हजार ८ सय ८ रुपैया जरिवाना गरि छाडेको थियो ।


Thursday, August 23, 2018

बाँकेमा रासायनिक मलको चरम अभाव



                                                                                        





नेपालगन्ज ०७ भाद्र । 
             बाँकेमा रासायनिक मलको चरम अभाव देखीएको छ । कृषि सामग्री केन्द्र लिमिटेडको क्षेत्रिय कार्यालय नेपालगन्जले भदौ एक गते एक साताभित्रै  युरिया मल आईपुग्ने बताएपनि अहिलेसम्म मल आइपुगेको छैन् । धानखेतीको टप ड्रेसिङको समय भएकाले यतिबेला युरिया मल अभावमा छटपटाइरहेको किसानहरुले बताएका छन् ।
     कम्पनीले खरिद गरेको ३० हजार मेट्रिक टन मल भारतमा अड्कििएकाले समस्या भएको कार्यालयका निमित्त प्रमुख रमेश कुमार पौडेलले बताउनुभयो । मल खरिद तथा आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मल खरिद गरेपनि समयमै आपूर्तिको दायित्व पूरा नगरेको ओमकार कृषि सहकारी संस्था हिरमिनियाका अध्यक्ष विजय कुमार वर्माले बताउनुभएको छ । अब केहि दिनमै टप ड्रेसिङको समय घर्किने भएकोले मल आएपनि त्यसको उपादेयता नरहने उहाँले बताउनुभयो । कृषि सामग्री केन्द्रले खरिद गरेको मल भारतको विशाखापट्टम बन्दरगाहमा थन्किएको छ ।
       कृषि सामग्रीले रेल नपाउँदा ढुवानी गर्न नसकिएको बताउने गरेको नेपालगन्ज कार्यालयका निमत्ति प्रमुख पौडेलको भनाइ छ । केहि दिनमै मल आयात हुने र किसानहरुलाई सहकारीमार्फत वितरण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार,  तत्कालै २५०० टन भैरहवा र यति नै मात्रामा वीरगञ्जमा मल आइपुग्ने छ । बाँकी २५ हजार टन मल कहिले आउँछ भन्नेमा स्वयं लिमिटेड समेत अनविज्ञ छ ।

Thursday, July 19, 2018

कोहलपुरको खड्गवार स्मार्ट कृषि गाउँ बन्ने



खगेन्द्र दाहाल, कोहलपुर । 
   
      भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले बाँकेको क्षेत्र नम्बर १ कोहलपुर १३ मा स्मार्ट कृषि गाउँ बनाइने भएको छ । प्रदेश नम्बर ५ को सरकारले ल्याएको एक निर्वाचन  क्षेत्र एक  नमुना (स्मार्ट) कृषि गाउ अन्तरगर्त कोहलपुर १३ मा रहेको खड्गवार गाउँलाई स्मार्ट कृषि गाउँ बनाउन लागेको हो ।

 बाँकेका अन्य दुई निर्वाचन क्षेत्रका गाउँ अझै टुङ्गो नलागेको मन्त्रालयले जनाएको छ । कुन स्थानमा  कहाँ नमुना गाउँ छनौट गर्ने भन्न विषयमा सम्बन्धी निर्वाचन क्षेत्रका सांसद, स्थानिय तहका प्रमुख तथा किसानहरु संग नै छलफल गरेर अगाडी बढाइने भएको छ । कोहलपुर १३ मा रहेको खड्गवार गाउँमा  प्राविधि सेवा सहित विभिन्न यन्त्रीकरण प्रयोग गर्दे आधुनिकीकरण तर्फ  स्मार्ट गाउँमा लागू हुने भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५का मन्त्रि आरती पौडेलले जानकारी दिइन । किसानलाई प्राविधिकको अभाव महसुसन हुन नदिन एक जना प्राविधिक प्रदेश सकारले नै नियुक्ती गरेर गाउँमा खटाउने गरी कार्य अगाडी बढाइने मन्त्रि पौडेलले बताइन ।

 गाउँको माटोको कस्तो प्रकृतिको खेतीगर्न सकिन्छ भन्ने विषयमा प्राविधिक तथा विज्ञको सुझाव अनुसार सोही प्रकृतिको तरकारी वा फलफुल उत्पादन गर्न सकिने छ । मन्त्रालय मार्फत प्रदेश नम्बर ५ का ५२ वटा निर्वाचन क्षेत्रमा यस्तो नमुना कृषि गाउँ निर्माण हुने मन्त्रालयका सचिव यमनारायण देवकोटाले जानकारी दिनुभयो । एक नम्बर निर्वाचन क्षेत्र मन्त्रि पौडेलको निर्वाचन क्षेत्र पनि हो ।

होटल व्यवसाय सगै बाख्रा पालनमा




  


खगेन्द्र दाहाल
नेपालगन्ज । 
           

            बाँकेमा कृषि पेशालाई व्यवसायिक रुपमा अंगाल्ने र ठुलो लगानी गर्ने क्रम दिनप्रतिदिन बढ्दो छ । कोहि विदेशबाट फर्केर त कोहि जागिर छाडेर भएपनि व्यवसायिक रुपले कृषि क्षेत्रमा संलग्न भइरहेका छन् । तर, तुल बहादुर कंडेल नेपालगन्जमा चल्तीको रेष्टुरेन्ट व्यवसाय छाडेर बाख्रापालनमा लागेका छन । नेपालगन्जको मुटु भनेर चिनिने धम्बोझीमा रहेको हाम्रो मःम, हिलपार्क रेष्टुरेण्ट जस्तो चलेको होटलमा करौडौको व्यापार  छाडेर बाख्रा पाल्न थाले भन्दा विश्वास नलाग्ला । तर यो कुरा सत्य हो । त्यहि पहिलेका हाम्रो मःम, हिलपार्क रेष्टुरेण्टका सन्चालक तुल बहादुर कंडेल हिजो आज खजुरा गाँउपालिका वडा नम्बर ३ सिर्जनाटोलमा रहेको हिलपार्क कृषि तथा पशुपालन फार्ममा भेटिन्छन ।
 मःम रेष्टुरेण्ट चलाउदा दिनहुँ ४÷५ वटा खसी काट्नुपर्ने र खसिहरुको अभावहुने, लिन पर्दा पनि बुच्चरसगँ लिन पर्ने बाध्यता देखेर बाख्रा पालन तर्फ लागेका कंडेल अहिले पुरा समय बाख्रा फार्ममै खर्च गर्छन ।    सधै खसि लिनका लागी भारतकै भर पर्न परेपछि कंडेलले नेपालमै खसि उत्पादन गर्न सकिन्छ कि भनेर हाल व्यवसायिक रुपमै बाख्रा पालन गरीरहेका छन । उनिसगँ बाख्रा, खसि, पाठा पाठि गरेर अहिले दुई सय बढि छन । कंडेलले बाख्रा पालनमा दुख हुन्छ भन्ने थाह हुदा हुदै पनि यस व्यवसायमा प्रवेस गरे । धेरै किसानहरुले दुख गरेको देखेका कंडेलले आफु पनि अन्य किसान जस्तै मेहेनत गरेर बस्न चाहेको बताए । पैसा नै कमाउछु भनेर आफु बाख्रा पालनमा नलागेको भएपनि विस्तारै यसमा पनि राम्रो आर्थिक आम्दानी हुनेमा ढुक्क भएको तुलबहादुरले बताए ।
 स्वदेशमै बसेर पसिना बगाएर काम गर्नेहो भने राम्रो कमाई गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल हुदैछन तुलबहादुर । होटल सन्चालन गरेर सम्पन्न भएको देखिएतापनि मानसिक तनाब धेरै हुने हुदा बाख्रा पालनमा सन्तुष्टि मिल्ने गरेको कंडेलले बताए । होटल चलाउदाका बेला कंडेललाई सुगर, युरीएसिड, खुट्टामा हिडडुल गर्नमै समस्या आएपछि शारीरीक परिश्रम पनि आवश्यक रहेछ भन्ने लागेर कृषि पेसा रोज्ने निधो गरेरै बाख्रा पालन सुरु गरेको बताउछन । बाख्रा पालन सुरु गर्नु अधि १ सय ६ केजि तौल रहेको तुलबहादुरको अहिले घटेर ८६ केजीमा झरेका छन ।  कंडेलले बाख्रा सगै खजुरामा हिलपार्क कटेज एण्ड रेष्टुरेन्ट पनि सगसगै लगेका छन । रेष्टुरेन्टमा आफ्नो फार्ममा  उत्पादन भएका खसि, लोकल कुखुरा, हाँस लगाएत खपत गर्ने गरेका छन ।

 कृषि पैसामै बाकि जिवन विताउने योजना सहित बाख्रा पालन गरीरहेका कंडेलले ५ हजार बाख्राको माउ पाल्ने योजना सहित सुरु गरेको सुनाए ।  बाख्रा पालन गर्नकै लागी उनले झण्डै २० विगाह जमिन भाडामा समेत लिएर घाँस खेती गरीरहेका छन । बाँकेमै सबैभन्दा ठुलो लगानीमा बाख्रा पालन गरीरहेका कंडेलले देशकै ठुलो बाख्रा पालन फार्म बनाउने लक्ष्य राखेका छन । हाल उनले पालेको बाख्राको लागी प्रतिदिन पाँच क्विइटल घाँस आवश्यक पर्ने भएकाले कृषक कडेल विहान साझ घाँसकै प्रवन्ध गर्नमा लागीपरेका हुन्छन । उनले पालेका अधिकाश बाख्रालाई विमा गरीएको छ । बाख्रा पालन सगै हाँस लाई पनि वृद्धि गरी गरी हासको मासुको मागलाई पुर्ति गर्ने गरी काम गरीरहेको छु कृषक कंडेलले बताए । खजुरा क्षेत्रमा पर्यटकिय कृषि फार्म बनाएर आन्तरीक पर्यटक भित्राउने कृषक कडेलले योजना रहेको सुनाए ।


Thursday, June 21, 2018

अबैध पशुपंक्षि आयातमा कडाई




नेपालगन्ज ०७ असार । 
         अबैध पैठारी नियन्त्रण कार्यादलको  यो आर्थिक बर्षको अन्तीम बैठक विहिबार बसेको छ । पशु क्वारेन्टाइन चेक पोष्ट कार्यलय नेपालगन्जमा बसेको बैठकले अबैध पशुपक्षि जन्य बस्तु भारतबाट भित्रन नदिन थप कार्वाहि अघि बढाउने निर्णय गरेको छ ।
 जिल्लामा विगतका केहि महिना यता अबैध रुपमा भित्रने गरेका पशुपक्षिजन्य बस्तु आयातमा कमि आएको कार्यादलका सम्योजक तथा पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका निमित्त प्रमुख राम सेवक त्रिपाठिले जानकारी दिए । त्रिपाठिका अनुसार यो आर्थिक बर्षमा बाँके, बर्दिया र दाङ्ग गरेर अबैध चोरी निकासी, पैठारी गरीरहेका बाट जरीवाना स्वरुप  ८ लाख २२ हजार राजस्व समेत सङकलन भएको बताए ।

बाँकेबाट ६ लाख ११ हजार राजस्व सङकलन भएको छ । सुरक्षा निकाय, नेपालगन्ज उप महानगरपालिका पशु सेवा शाखा, कृषि पत्रकार लगाएतको प्रतिनिधि सहित बसेर गरीएको बैठकमा बोल्दै जिल्ला ट्राफिक कार्यालय प्रमुख हिरेन्द्र बहादुर रोकायाले जिल्ला भित्र पशुपक्षिलाई दुख दिने गरी ओसार पसार गरेको पाइने कावार्हि गरीने प्रतिबद्वता जनाए । प्रमुख रोकायाले सार्वजनिक सवारी साधन मुख्य तारगेटमा रहेको बताए । ‘पशुपक्षिको अधिकारलाई कुल्चेर जो कोहिले ओसार पसार गर्छ त्यो कारबाहिको दायरामा आउने छ’, प्रमुख रोकायाले भने । नेपालगन्ज पशुसेवा शाखाका प्रावधिक भोजराज रावलले  अबैध कुखुरा रोक्ने गरी समन्वय सहकार्य भइरहेको बताए ।

Wednesday, June 20, 2018

सामुदायिक कुकुरहरुको बन्ध्याकरण सुरु (फोटो फिचर सहित)

 


दुई सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य

नेपालगन्ज ०६ असार । 
           नेपालगञ्जमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण सुरु भएको छ । एनिमल नेपाल र जिल्ला पशु सेवा कार्यालय बाँकेको सहकार्यमा                                                                         नेपालगञ्ज उपमहानगरपालिकाले एक हप्ते बन्ध्याकरण शिविरको आयोजना गरेको हो । शिविरमा पहिलो दिन दुई दर्जन कुकुरको बन्ध्याकरण गरीएको छ ।

 सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्नकै लागी एनिमल नेपालको स्पेसल टिम काठमाडौ बाट झिकाइएको छ । एक सातामा दुई सय बढि कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखा प्रमुख तथा पशु चिकित्सक डा.अपार पौडेलले जानकारी दिए ।



स्पेसल टिमले नगरमा भएका सामुदायिक कुकुरहरुलाई जालीको सहाराले छोपेर भेटेनरी एम्बुलेन्समा राखी एक दिन आराम गर्न दिएर बन्ध्याकरण गराइने  प्रमुख पौडेलले बताए । कुकुरको जनसङख्यामा कमि ल्याई रेविज रोग नियन्त्रण गर्ने उदेश्यले लिइएको पौडेलले जनाए ।   नेपालगञ्जमा सामुदायिक कुकुरको संख्यामा अत्याधिक बृद्धि हुदाँ विभिन्न दुर्घटना समेत निम्तीएको भन्दै बन्ध्याकरण शिविर सञ्चालन गरीसकेपछि केहि सङख्यामा भएपनि कुकुरको जनसङख्यामा कमि आउने पौडेलले बताए । हाल नेपालगञ्ज क्षेत्रमा एक हजार बढी सामुदायिक कुकुरको रहेको उप महानगर पालिकाले जनाएको छ । 


Thursday, June 14, 2018

किसानलाई साना सिचाई सामाग्री वितरण


   खजुरा ३१ जेष्ठ । 
         
          खजुरा गाउँपालिकाले व्यवसायिक कृषि समुह र सहकारीहरुलाई साना सिचाई  सामाग्री वितरण गरेको छ । गाउँपालिकामा रहेका ४ वटा कृषक समुह र सहकारीहरुलाई एक कार्यक्रमको आयोजना गरी सामाग्री वितरण गरीएको हो ।

साना सिचाई सामाग्री वितरण गर्दे गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले पाएको सामानको सहि सदुपयोग गर्न किसानहरुलाई अनुरोध गरे । कक्षपतिले खजुरालाई कृषिमा आत्मनिर्भर गराउने उद्देश्यले नयाँ योजना ल्याउन लागेको बताए । उनले यो वर्ष कृषिमा निशर्त बजेट आएको भन्दै आगामि वर्षमा कृषिमा क्षेत्रगत रुपमा बजेट ल्याउने तयारी गाउँपालिकाले गरेको जनाए । 

गाउँपालिका कृषि शाखाको अनुदान सहयोगमा वितरण गरीएको साना सिचाई सामाग्रीमा बोडिङ्ग सेट, पम्पसेट, मोटर, सिचाई पाइप रहेको थियो । खजुरा गाउँपालिका कृषि शाखाले साना सिचाई खरिदमा २ लाख ९१ हजार रुपैया अनुदान सहयोग  दिएको थियो भने कृषक समुहले ३६ हजार  ६ सय ६० रुपैया स्वयम लगानि गरेको गाउँपालिका कृषि शाखाका प्रमुख सुरेन्द्र ठाकुरले जानकारी दिए ।

 खजुरा गाउँपालिका वडा नम्बर २ सि गाउँमा रहेको शिव शंकर कृषक समुह, वडा नम्बर २ को लालीगुराँस कृषक समुह, वडा नम्बर ७ बठुवामा रहेको हरियाली कृषक समुह र वडा नम्बर ३ विगाउँमा रहेको दिप ससक्तीकरण कृषि सहकारी सस्थालाई वितरण गरीएको गाउँपालिकाले जनाएको छ ।

Tuesday, June 12, 2018

गाई पालनबाट मासिक १ लाख ४० हजार बचत गर्दे विष्णु





       खगेन्द्र दाहाल, नेपालगन्ज । 
 
       पढेलेखेकाहरुले कृषि पेशा खुलेर अंगाल्ने मनोविज्ञान हाम्रो समाजमा अझै बन्न सकेको छैन । तर, डिग्रीसम्मको अध्ययन गरेका बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ पिपरीका कृषक विष्णु पोखरेल व्यवसायिक गाईपालनमा जमेका छन । पोखरेल आफ्नो कर्मप्रति गर्व मात्रै गर्देन कि अरु युवाहरुलाई पनि भौतारिनु र विदेश नै ताक्न छाडि आफ्नै ठाउँमा मिहिनेत गर्न हौसला दिन्छन । पोखरेलले अध्यापन र एउटा एनजिओको जागिर छाडेर गाईपालनमा लागेपछि धेरैले अनौठो पनि माने ।

    डिग्री पढेको मान्छे गोबर सोहोरिरहेको देखेपछि खिसिट्युरी गर्नेहरुको कमी छैन । तर कृषक पोखरेललाई आफ्नो काममा गर्व छ । यहि गरेरै खानुपर्छ भन्ने मान्यताले करिब १ दशकअघि उनि गाईपालमा लागेका छन । पोखरेलको फर्म अहिले बाँके जिल्लाकै ठुलो गाईपालन फर्म हो । दैनिक २ सय २५ देखि २ सय ३५ लिटरसम्म दुध उत्पादन हुने फर्ममा हाल ३५ वटा उन्नत जातका गाई छन् । गाईको दुधबाटै मासिक २ लाखको कारोबार हुन्छ । यसमा पनि १ लाख ४० हजार सम्म प्रति महिना मुनाफा गर्दे आएको कृषक पोखरेलले बताए । कृषि पेशामा जबसम्म पढेलेखेका मानिसहरुको उल्लेख्य प्रवेश हुँदैन तबसम्म देशको विकास नहुने पोखरेलको बुझाई छ । उनि आफुले आर्जन गरेको शिक्षाकै कारण गाईपालन व्यवसायमा टिकिराख्न र गम्भिरतापुर्वक बुझ्न सफल भएको बताउछन ।

    २०६५ सालमा बाँकेको खजुरा देखि एयटा गाई पाल्न भनि ल्याएका पोखरेल दम्पतीले विस्तारै उन्नत जातका गाई बढाउदै लगेका हुन । सुरुमा ल्याएको गाईलाई पोखरेलले २५ हजारमा खरिद गरेका थिए । अहिले त उनि सगं  १ लाख ३० हजार मुल्य सम्मका दुधालु गाई छन । गाई पालन गर्दा बेला बखतमा आउने समस्यालाई उनले गुगल सर्च गरेर समस्याको समाधान गर्छन । गाईको कसरी लालनपोषण गर्ने, कस्तो खानेकुरा खुवाउने, मौसम अनुसार घाँसको विरुवा लगाउने जस्ता कुराहरु इन्टरनेटमा हेरेर चाहिने बस्तु मगाउने र सोहि अनुरुप कार्य गर्दे आएका छन ।

    गाई पालनलाई अझै विस्तार गरेर देशकै नमुना गाईपालन फर्म बनाउने योजनामा रहेका पोखरेल अरु उपाय नदेखेर विदेशको बाटो ताकिरहका युवाहरुलाई विदेशको यात्रा अन्य गर्न अनुरोध गर्छन । पोखरेल भन्छन्, ‘खाडि मुलुकमा दिनरात गरी बगाएको पैसा भन्दा नेपालमै आफ्नो परिवार सगै बसेर कमाएको पैसाले सुख दिन्छ ।’ पढेलेखेका युवाहरुले पनि नेपालमै बसेर केहि गरौ केहि नगर्दा सम्म केहि हुनेवाला छैन’ कृषक पोखरेलले भने ।


Friday, June 8, 2018

किसानहरुलाई धानको व्याड राख्न चटारो


खगेन्द्र दाहाल
नेपालगन्ज २६ जेष्ठ । 
       
बाँकेका किसानहरुलाई धानको व्याड राख्न भ्याइ नभ्याइ  छ । ढिलागरी वर्षा सुरु भएकाले किसानको रोपाइँ पनि ढिला सुरु भएपछि धमाधम व्याड राख्न लागेका हुन । यो बेला किसानहरुलाई विउ विजन जोहो गर्ने चटारो हुन्छ । सिचाई सुविधा भएका किसानहरुले भने धानको व्याड राख्दै छन भने सिचाई नभएका स्थानमा आकासे पानिको भर पर्न पर्ने अवस्था छ । असारको पहिलो हत्ता सम्म धानको व्याड राख्न सकिने कृषि विज्ञहरु बताउछन ।

कृषिमा आधुनिकिकरण गर्ने सरकारको योजना अनुसार कतिपय किसानले आधुनिक प्रविधि अपनायर खेती गरीरहेका छन भने कतिपयले पुरानै तरिकाले धानको व्याड राख्ने गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्ण बहादुर बस्नेतले जानकारी दिए । जिल्ला कृषि विकास कार्यालय बाँकेका अनुसार हाल सम्म ५० प्रतिशत किसानहरुले धानको व्याड राखीसकेका छन ।


 बाँकेमा ३६ हजार ५ सय हेक्टर जमिनमा धान खेती हुने गरेको छ । त्यस मध्ये १५ हजार हेक्टर जमिनमा मात्र सिंचाइँ सुविधा रहेको कृषि विकास कार्यालयले जनाएको छ । बाँकेमा राधा चार, सामा मनसुली, राम, सुख्खा १, २ र ३ लगायतका हाइब्रेड जातको धान खेती गर्ने गरिएको छ ।

Tuesday, June 5, 2018

बसको डिक्गीमा काठमाडौ लैजादा २० वटा खसी निसास्सिएर मरे


फोटो ः विमला चौधरी
नेपालगन्ज २३ जेष्ठ । 
        पशु अधिकारको गंम्भिर उल्लंघन हुनेगरि अवैद्यानिक तवरले बाँकेबाट काठमाडौ लैजान लागिएका २० वटा खसी निसास्सिएर मरेका छन् । जिल्लाको खजुरा गाउपालिका वडा नम्बर २ रिमझिम चोकबाट काठमान्डौं लैजान भे ५ ख ७४८७ नम्वरको यात्रुबाहक बसको डिक्गीमा राखिएका २६ वटा खसीमध्ये २० वटा मरेको बाँकेका एसपी टेकबहादुर तामाङले जानकारी दिए ।  अपरान्ह लोड गरिएका खसी नेपालगन्जको बसपार्कमा मंगलबार सांझ डिक्गी खोल्दा मरेको अवस्थामा भेटिएको थियो ।

फोटो ः विमला चौधरी

   खजुरा गाउँपालिका २ केशवबहादुर विसी र टेकबहादुर रोकायले विक्रीका लागि खसी काठमान्डौं लैजान लागेको खुलेको छ । एसपि तामाङका अनुसार खसिहरुको क्वारेन्टाईन जाँच समेत नभएको पाइएको छ । तोकिएको ढुवानी साधन बाहेक अन्य साधनमा पशुचौपाय ढुवानी गर्न नपाइने कानुनी व्यवस्था उल्लंघन गरेर खसि लैजान लागेको क्वारेन्टाईन कार्यालय नेपालगन्जका पशु प्राविधिक तिलक आचार्यले बताए ।  अवैद्यानिक तवरले बसमा खसि ओसारपसार गरेको र पशु अधिकारको गम्भिर उल्लंघन गरेको भन्दै बस चालक र मालिक दुवैलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कानुबमोजिक कारबाहि गरिने जनाइएको छ ।

Saturday, June 2, 2018

सडकमा पशु चौपाया



नेपालगन्ज । 


       नेपालगन्ज उपमाहनगरपालिकाका सडकमा छाडा पशु चौपायाको सङख्या दिन प्रतिदिन बढ्दो छ ।  पालिका यसलाई नियन्त्रण गर्न असक्षम जस्तै देखिएको छ । निरन्तर छाडा पशु चौपायाका कारण दुर्घटना र सडक वार पार गर्दा समेत मुस्किल पर्ने स्थानिय बताउछन । छाडा रुपमा छाडिएका पशु चौपायालाई बेला बखतमा कान्जि हाउस पु¥याइएको भनियतापनि उक्त क्रम घट्न सकेको छैन । बाख्रायाम सुरु हुनै लाग्दा झनै पशु चौपाया सडकमा देखिन थालेका छन ।

नेपालगन्जको सुर्खेतरोडमा रहेको छाडा पशु चौपाया । 
स्थानियका अनुसार दिन प्रतिदिन नेपालगन्जमा छाडा पशु चौपाया बढ्ने क्रम भएको छ । फाट्फुट रुपमा देखिने गरेका चौपायाहरु हिजो आज सडकनै जाम गर्ने गरी भरीएका छन । एकै स्थानमा दर्जन बढि छाडा पशु चौपायाले सडकमा बस्दा हिडडुल गर्नमै समस्या उत्पन्न गरीदिएको नेपालगन्ज २ का सुवास न्यौपानेले बताए ।  नेपालगन्ज उप माहनगर पालिकाले छाडा पशु चौपाया नियन्त्रण गर्न नसकेको न्यौपानेले  गुनासो गरे । नेपालगन्जको धम्बोझी, विपि चौक, पुस्पलाल चौक छेउछाउका सडकमा वढि छाडा पशु चौपायाले समस्या पारेका छन । जताकतै छाडा पशु चौपाया बढेकाले शहरको सुन्दरतालाई समेत विगारेको नेपालगन्ज कारकादोका अरुण घिमिरेले बताए । उनले आफ्नो सवारी साधन चलाउन नेपालगन्जमा मुस्किल पर्न थालेको बताए । नेपालगन्ज सुर्खेतरोडमा मात्र नभएर न्युरोड, पसपार्करोड, सल्यानि बगला, खजुरा रोड जताकतै छाडा पशु चौपायाको विगविगि बढेको छ । अप्पताल क्षेत्रमा झनै छाडा पशुको सङख्या बढ्दै गएको छ । बाँके गाउका प्रकास केसीले लगाएको तरकारी पनि छाडा पशुचौपायाले नोक्सान पारेको बताए । बेला बखतमा छाडा पशु चौपाया हटाएको भनेपनि झनै बढ्दै गएको र त्यसको प्रत्यक्ष असर नेपालगन्ज क्षेत्रका स्थानिलाई पुगेको छ । छाडा पशुलाई बान्जि हाउसमा राखेर केहि दिन पछि छाडिदा पुन शहरमा फर्केर आउदा समस्या जटिल बन्दै गएको हो ।




खाडीबाट फर्केपछि बाख्रापालन


  


खगेन्द्र दाहाल
बर्दियाः अहिलेका युवाहरुमा रोजगारी भन्ने वित्तिकै कि त सरकारी जागिर कि त विदेश नै सोच्छन् । सबै युवाहरु पनि कमाउन यी दुई बाटोमै दौडिरहेका छन् । धेरैजसो विदेशबाट असफलता हातमा लिएर पनि फर्केका छन् । कति फेरी फर्के भने कतीले विदेशमा हण्टर खाँदै आफ्नै ठाउँमा रोजगारीको सम्भावना देखि लगानी गरेर स्थापीत हु्न्छन् ।
पेढेलेखेर जागिर खाने र विदेशमा मात्रै पैसा कमाउनुपर्छ भन्ने मान्यतालाई बर्दियाका एक युवा किसानले तोडेका छन् । पटक पटक असफलता हात लागेपछि अन्त्यमा पशुपालन व्यवसाय अपनाएका बर्दियाका प्रेम लामिछानेले बाख्रापालन व्यवसायबाटै मनग्य आम्दानी लिन थालेका छन् ।
बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर २ का लामिछानेको अहिले आफ्नै बाख्रा फार्म छ । २८ वर्षिय युवा किसान लामिछाने व्यवसायमा आउनुअघि वैदेशिक रोजगारीमा थिए । विदेशमा हुँदा पैसा कमाएपनि उनले आफ्नै ठाउँजस्तो सम्मान र सहज वातावरण नपाउँदा यतै बस्ने निधो गरे । अंग्रेजी विषयमा डिग्री गर्न काठमाडौ छिरेका प्रेम घरको आर्थिक अवस्था निकै कमजोर भएपछि उतैबाट झण्डै चार बर्ष जति बैदेशिक रोजगारीमा साउदि अरब पुगे, काम गरे र पैसा पनि कमाए । विदेशमा १६ घण्टा सम्म कठोर परिश्रम गर्न परेको सुनाउँदै उनले भने, ‘सोचेजस्तो विदेशमा पैसा कमाउन सजिलो रहेनछ, धेरै दुःख गर्नुपर्छ, केही भइहालेमा पनि आफ्नो भन्ने कोही छैन । त्यसैले मैले आफ्नै ठाउँमा केही गर्ने सोच अनुसार बाख्रा पाल्ने निधो गरेँ ।’

विदेशबाट घर आएपछि पनि उनले नेपालगन्जमा मदिराको डिलर सन्चालन गरे । अनुभव विनाको नयाँ व्यवसाय भएकै कारण उनले मदिरा व्यवसायमा निकै घाटा बेहोर्नुप¥यो । विदेशमा कमाएको पैसा सबै मदिरा सञ्चालन गर्दा नै खर्च भयो । फेरी जापान जाने तयारी गरिरहेकै अवस्थामा त्यसै विचमा प्रेम बाँके, बर्दिया, सुर्खेत लगायतका क्षेत्रमा किसानले गरेको प्रगति अवलोकन गरे । रेडियोबाट पनि थुप्रै किसानहरु घरमै बसेर प्रगती गरेको सुने । कृषकहरुको मेहनत र उत्पादन देखेर आकर्षित भएका लामिछानेले अन्नतः विदेश जाने सपना त्यागे र बाख्रा पालनतिर लागे । विगत ६ महिना अघिबाट उनले स्थानीय स्तरमै व्यवसायिक बाख्रापालन सुरु गरेका छन् ।
‘शुरुमा बाख्रा पालन गर्दा मेरो मनमा कतै मैले यो यवसाय सुरु गरेर गल्ती त गरेन भन्ने पनि लागेको थियो, तर अहिले निकै खुशी छु, आफ्नै ठाउँमा थोरै समयमा पनि सफलता पाएकोले गौरवाम्भित समेत भएको छु’ उनले भने । युवा किसान लामिछानेको बाख्रा फार्ममा हाल ६० बढि खसि,बोका,बाख्रा, पाठापाठी पुगिसकेका छन । ‘बाख्रा पाल्न सुरु गरेपनि मलाई घरकाले बौलायो पनि भने, सबै पढेर जागिर खाए तर हातमा सर्टिफिकेट हुँदा हुँदै पनि बाख्रा गोठालो भयो भन्ने परिवारको पिरालो थियो । तर अहिले यता राम्रो हुँदा परिवार सबैको साथ पाएको छु,’ उनले आफ्नो अनुभव बताए ।
लामिछानेले अहिले घरमै रोजगारी पाएका छन । कृषक लामिछाने आफु मात्र नभएर उनका घरपरीवार र एकजना गाउकै व्यक्तीले समेत रोजगारी पाएका छन् । बाख्रा पालन गरेरै ठाकुर बाबा नगरपालिकामा कहलिएका लामिछानेलाई विभिन्न सरोकारवाला निकाय व्यक्तीहरुले समेत हौसला प्रदान गर्दे आएका छन् । विदेशमाभन्दा यहि बसेर आत्मसम्मान मिल्ने भएकाले अब विदेश नजाने लामिछानेले बताए । उनले भने, ‘म अहिले यही खुशी छु, मलाई धेरैले चिन्न थालेका छन् । प्रेमलाई डिग्री सम्मको अध्ययन गरेका भाई रमेशले सघाइरहेका छन । मेरो काम हेरेर अन्य युवाहरुले पनि बाख्रा पालन गर्ने सोच बनाएका छन् ।’ उनले आफ्नो बाख्रा फार्ममा विभिन्न उन्नत जातका बाख्रा विभिन्न जिल्लाबाट खरीद गरेर ल्याएका छन् । नेपालमा पनि राम्रो फस्टाएको बोयर जातको बोका समेत लामिछानेले बाख्रा फार्ममा भित्राएका छन् । 

बार्षिक दश लाख बढि आम्दानि गर्ने उदेश्यका साथ बाख्रा पालन गरीरहेका प्रेमले एक वर्षमै सय बढी बाख्रा आफ्नो फर्ममा हुने बताए । प्रेमले बाख्रा पालन गर्नकै लागी डेढ विगाह क्षेत्रफलमा विभिन्न जातका डाले घाँसका विरुवा र भुई घाँस लगाएका छन् । छोटो समयमै ठाकुरबाबा नगरपालिका क्षेत्रमै नमुना व्यवस्थित रुपमा चिनिएको उक्त बाख्रा फार्मलाई कृषक लामिछानेले स्थानिय तहमा प्रेसिका एग्री फार्मको नाममा दर्ता गरेरै सन्चालन गरीरहेका छन । ‘बर्दिया जिल्लाकै नमुना बाख्रा फार्मको रुपमा चिनाउने गरी मेहेनत गरीरहेको छु’ उनले भने ।

Friday, June 1, 2018

कृषि पेशाले दिलायो सन्तुष्टी



 खगेन्द्र दाहाल 

नेपालगञ्ज /  सरकारी जागीर भनेपछि धेरैले मरिहत्ते गर्छन, तर बाँके खजुरा गाउँपालिका १ बेलभार चौधरीपुरका तेज बहादुर थापा आफनो हुदाँ छदाको सरकारी जागीर छाडेर खेतीपातीमै रमाएका छन ।
 तेजबहादुरले नेपाल प्रहरीमा साढे ३ वर्ष जागिरे भएर देशको सेवा गरे । जागिरे हुदा सम्म अरुको दबावमा बस्नुपर्ने, आवश्यक परेको समयमा विदा नमिल्ने भएकाले उनलाई सरकारी जागीर देखी मन मर्दे गयो र जागीर छाडेर खेती किसानी गर्न तर्फ लागे । जागिर छाडीसकेपछि कृषक तेजबहादुरले आप्नो पुर्खौली पेसा कृषि पेसालाई अङगाले ।
पहिले त तेजबहादुरले आफनो सबै परिवार सगै हुदा ४ विगाह क्षेत्रफल सम्म टमाटर खेती गरे । पछि परिवार छुट्टीएकाले केहि कम लगाउने गरेको भएपनि आफुलाई जिवन धान्न प्रयाप्त हुने गरेको उनले बताए । । उनले व्यवसायिक रुपमा टमाटर खेती मात्र नभएर आपँ खेती समेत गर्ने गरेका छन् ।
टमाटर खेती सगंै आम खेती पनि गर्न भ्याएका उनले साढे ३ विगाहा क्षेत्रफलमा मात्र आपँ लगाएका छन् । दशहरी ,अमरपालीका , लाल गुलाव , चौसा , सबेदा , लङ्गडा र हात्ति पाउ जस्ता आँपका जातहरु कृषक तेजबहादुर थापाको वगैचामा रहेका छन् । आँपको विरुवा लगाएपछि दोहोरो फाईदा मिल्ने भएकाले यो व्यवसाय गरेको थापाले बताए ।

आँपको सानो बोट हुन्जेल विभिन्न बाली , तरकारी खेती लगाउन मिल्ने र आँपको बोट ठुलो भैसकेपछि बेसार , पिडालु लगाउन मिल्ने उनको भनाई छ । आँप सानो छदाँ बार्षिक ३० , ४० हजार आम्दानी दिएको भएपनि ठुलो भैसक्दा उनले ५ वर्ष सम्म बार्षिक डेढ लाखमा ठेकेदारलाई ठेक्का दिएका थिए ।  फेरी ठेक्का बढाएर बार्षिक २ लाख ५० हजारमा आँप बगैचा बाट बसी बसी आम्दानी दिने गरेका छन । उनि कृषि काम गरेरै रमाएका छन ।  कृषक तेजबहादुर भन्छन खेती गर्दा मलाई कसैको भनाई सुन्न पद्रैन जहा जतिबेला पनि म जान सक्छु । तरकारी विक्रि गर्न पनि कुनै समस्या छैन बजार नजिक छ । रोग ब्यादी लागेका समयमा पनि कम्तीमा ८५ क्वीन्टल आँप उत्पादन हुने उनको आँप बगैचामा यो पटक पनि रामै उत्पादन भएको छ । खेती किसानी गरेरै आएको आम्दानी बाट ढाइ विगाह जमिन, पक्कि घर, मोटर साइकल इत्यादी जोडेका छन् तेजबहादुरले । विदेश जाने रहर पलाएन भन्ने प्रश्न गर्दा उनले भने  ‘पहिले पासपोर्ट बनाएर जान खोजेपनि अब मन लाग्न छाडेको छ, कृषिमै रमाएको छु । ’


Thursday, May 31, 2018

अण्डा उत्पादन गरेर मासिक चार लाख आम्दानी




गेहेन्द्र प्रसाद शर्मा
खगेन्द्र दाहाल   
             
           बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँका ४९ वर्षिय गेहेन्द्र प्रसाद शर्मा छोराछोरीलाई गुणस्तरीय शिक्षा दिनकै लागी कमाई गर्न ६ वर्ष सम्म विदेशिय । ओमानमा हेल्परको रुपमा काम गरेका गेहेन्द्रलाई घर फर्किएपछि भने फेरी विदेश जान मन लागेन । उनले ओमानमा ४० देखि ४५ हजार मासिक कमाई गर्थे । विदेशबाट कमाई गरेर ल्याएको केहि पैसा छोराछोरीलाई पढाउनमा खर्च गरे, केहि कुखुराको खोर निर्माण गर्न । गेहेन्द्रले छोरालाई इन्जिनियर पढाएका छन् । छोरा गोपालप्रसाद शर्माले पनि अहिले सिन्धुपाल्चोकमा जागीरे छन । अहिले कुखुराले राम्रो अण्डा दिइरहेको र त्यसबाट आर्थिक आम्दानी पनि सन्तोषजनक रहेको कृषक शर्माले बताए । कुखुरा पालनको कुनै अनुभव नहँुदा पनि गेहेन्द्रले करिव डेढ वर्ष अघि सुरु गरेका व्यवसायिक कुखुरापालन फष्टाउदै गएको छ । बेला बेलामा पशु चिकित्सकसगँ कुखुराको विषयमा सल्लाह लिदै अघि बढेको गेहेन्द्र वताउछन् । सफल वन्नका लागी लगन र मेहेनत चाहिने गेहेन्द्र वताउछन् ।
गेहेन्द्र प्रसाद शर्मा
अब विदेश नजाने घरमै बसेर कुखुरा पालन गरेरै बस्ने योजना रहेको उनले बताए । ‘विदेशमा भन्दा घरमै राम्रो आम्दानी भैरहेको छ’ कृषक गेहेन्द्रले भने –‘विदेशमा गएर पनि काम नै हो गर्ने बसेर खान कसैले दिदैन । यहाँ आफ्नो घर परिवारसगं बसेर काम गर्नुको मजा बेग्लै हुन्छ ।’ 
अहिले एक दिनमै छ पेटि सम्म अण्डा उत्पादन भैरहेको उनले जानकारी दिए । ‘एक दिनमा १३ हजार २ सय रुपैया बराबरको अण्डा विक्रि गर्ने गरेको छु’ कृषक शर्माले खुसी व्यक्त गर्दै भने । यसरी हेर्ने हो भने कृषक गेहेन्द्रले एक महिनाको अवधिमा करीव चार लाख आम्दानी गर्ने गरेका छन् । ‘छोराले कमाउने भन्दा बढि अहिले घरमै बसेर मैले कमाइ गरीरहेको छु’ गेहेन्द्रले भने ।
गेहेन्द्र प्रसाद शर्मा

 उनले आफुमात्र नभएर गाउँका २ जना स्थानियलाई समेत आफ्नो कुखुरा फार्ममा रोजगारी दिएका छन् । स्थानिय सरकार गाउँमै आएपछि आफु लगाएत अन्य कृषकको हक हितमा काम हुनेमा आसाबादि छन् । चार लाख घरमै बसेर कमाउदै आएका खजुराका कृषक गेहेन्द्र अन्य युवाहरुलाई पनि विदेश भन्दा गाउँघरमै व्यवसायिक कृषिमा लाग्न अनुरोध गर्छन ।

Wednesday, May 30, 2018

कृषिमा सफल गेहेन्द्र


कृषक गेहेन्द्र

                                         गेहेन्द्रले आफुले जानेको सल्लाह सुझाव घरमै पुगेर दिने गरेका छन । कृषि प्रतिको लगाव र मेहेनतले आफुलाई चिनाउन सफल भएका धितालले गरेको कृषि कर्मको अवलोकन गर्न विभिन्न स्थान बाट कृषकहरु आउने र ज्ञान लिएर जाने गरेका छन ।


         
खगेन्द्र दाहाल 
। 
नेपालगन्ज  

       बाँके सितापुर ३ का गेहेन्द्र प्रसाद धितालले २०५६ सालमा ६० हजारमा १० कठ्ठा जग्गा किने । जग्गा किनेको एक  वर्ष भित्रमै उक्त जग्गामा तरकारी खेती गरेर उनले ७० हजार कमाउन सफल भए ।
     तरकारी खेतीबाट जग्गाको मुल्य उठेपछि धिताललाई तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सकिने कुरा थाहा भयो । त्यसपछि उनले  तरकारी खेतीलाई बिस्तार गर्दै लगे ।  तरकारी खेतीबाटै आएको पैसाले उनले १ बिगाह जग्गा अरु थपे । हाल धितालले डेढ बिगाहमा तरकारी खेती गरेर वार्षिक पाच लाख सम्मको आम्दानी गर्दै आएका छन् । उनले एक बिगाहमा टमाटर खेती गरेका छन् भने अरु जग्गामा बन्दागोपी, ब्रो काउली, फर्सी लगाएतका मौसमी तथा  बेमौसमी तरकारी खेती गर्दै आएका छन् । एक सिजन अर्थात ६ महिनामा टमाटर मात्र २ सय  क्विन्टल उत्पादन गर्ने  उनले बताए ।


१५ वर्ष भयो उनले तरकारी खेतीलाई व्यवसायीक रुपमा अघि बढाएको ।  । हालसम्म तरकारी खेतीको बारेमा उनले कुनै तालिम लिएका छैनन् । उनले स्वअध्ययन रुपमा व्यवसायिक तरकारी खेतीलाई अघि बढाएका छन । कृषक धितालले पहिले शुरुमा तरकारी खेती गर्दा उनका छिमेकिहरु कसैले व्यवसायिक रुपमा तरकारी खेती गरेका थिएनन । जव उनले तरकारी खेतीमा व्यवसायिक रुपमा लागेर  राम्रो आम्दानि गर्न थाले त्यसपछि त्यहि देखेर थुप्रै कृषकहरु पनि व्यवसायिक बनेका छन । उनका छिमेकि समेत अहिले व्यवसायिक तरकारी खेती गर्ने गरेका छन ।

गेहेन्द्रले आफुले जानेको सल्लाह सुझाव घरमै पुगेर दिने गरेका छन । कृषि प्रतिको लगाव र मेहेनतले आफुलाई चिनाउन सफल भएका धितालले गरेको कृषि कर्मको अवलोकन गर्न विभिन्न स्थान बाट कृषकहरु आउने र ज्ञान लिएर जाने गरेका छन ।

 कपास विकास समितीमा खरीदार पदको जागिर छाडेर व्यवसायिक तरकारी खेतीमा लागेका धिताललाई जागिर छाडेको कुनै पछुतो छैन । हाल उनि लालिगुरास तरकारी खेती कृषक समुहका कोषाधक्ष्य समेत रहेका छन । ७ जनाको परिवार लाई  सन्तुष्ट राख्न सफल भएका कृषक धिताल भन्छन्, ‘मेरो हात पाउ चल्दा सम्म मैले व्यवसायिक तरकारी खेतीलाई निरन्तरता दिन्छु’ । तरकारी सगै उनले कागती आँप लिचि लगाएतका फलफुल आफ्नो बारीमा उत्पादन गर्दै आएका छन । एस एल सि पास गरेका उनि ५९ वर्षका भए । छोरा छोरीलाई उनले राम्रो शिक्षा दिक्षा दिएका छन । घरमा आफु र श्रीमति मिलेर तरकारी गर्दै आएका उनले बेला बखतमा थप कामदार राख्ने गरेका छन । उनको बारीमा उत्पादन हुने तरकारी तथा फलफुल नेपालन्ज लगाएतको क्षेत्रमा खपत हुने गरेको छ ।

तरकारी खेतीबाटै लखपति


खगेन्द्र दाहाल 
नेपालगञ्ज / घरमा खान लाउन मुस्किल हुँदा दिनहँु मजदुरी गरेर साँझ विहानको छाक टारे । १० जनाको परिवारलाई मजदुरी गरेर खान मात्र ठिक्क हुन्थ्यो ।  चाड पर्व आउँदा मिठो मसिनो खाने र राम्रो लुगा लगाउने रहर मनमै हराएर जाने गर्दथ्यो ।  यो परिस्थिति २०६८ साल अघिको हो, बाँके बनकटुवा पेडारीका भागिरथ थारुको । पहिले र अहिलेको कथामा आकाश पातालको फरक छ ।

     तरकारी हाट बजारमा उनले ल्याएको तरकारी लिन हारालुस हुन्छ । अर्गानिक तरिकाले उत्पादन गरेका कृषक भागिरथले ३ कट्ठा क्षेत्रफलमा ९ वटा टनेल निर्माण गरी करेला, ४ कट्ठामा टमाटर, ३ कट्ठामा खुर्सानी, ३ कट्ठामा फुलगोभी, १ कट्ठामा मुला ४ वटा टनेलमा लौका र काँक्रो लगाएका छन । मजदुरी गरेर ल्याएको पैसाले घर खर्च चलाउनै कठिन भएपछि उनले तरकारी खेती गर्न थालेका हुन् । उनले एकै वर्षमा यति धेरै तरकारी लगाउन सक्ने भएका भने होइनन् । व्यवसायिक तरकारी खेतीमा अग्रणी देखिएका भागिरथले शुरुमा ५ कट्ठा क्षेत्रफलमा टमाटर, गोभी र खुर्सानी खेती गरेर तरकारी खेतीमा व्यवसायीकरण शुरु गरेका हुन् । अहिले कृषक भागिरथले १ विगाह क्षेत्रफलमा मौसमी र बेमौसमी तरकारी खेती गर्छन् । उनी गाउँकै अगुवा कृषकका रुपमा आफूलाई चिनाउन सफल छन् ।
होलसेलमा तरकारी विक्रि गर्ने गरेका भागिरथले करेला ६० रुपैयाँ किलो देखि २० रुपैया सम्म विक्रि गरिरहेका छन् ।



टनेल माथि करेला र तल टमाटर लगाएका भागिरथले यसबाट दोहोरो फाइदा लिने बताए ।  उनले अहिले खेती गरिरहेको १ विगाह क्षेत्रफललाई बढाएर थप १० कट्ठा क्षेत्रफलमा तरकारी लगाउने योजना बनाएका छन् । थप गर्न लागेको जमिनलाई उनले ‘लिज’मा लिएका छन् ।

करेलाबाटै उनले मासिक ५० हजार बढी आम्दानी गरिरहेका छन् । धेरै प्रकारका तरकारी खेती गर्ने कृषक भागिरथले बार्षिक १० लाखसम्म आर्थिक आम्दानी गर्ने गरेको बताए । गत वर्ष पनि १४ वटा टनेलमा करेला लगाएका उनले १ सय क्वीन्टल विक्रि गरेका थिए । 

“अहिले पनि तरकारी लगाउने स्थान बढाउँदैछु,” उनले भने—“१० जनाको परिवारलाई खर्च गरेर बचत गर्न पुगेको छ ।” तरकारी उत्पादन गरेरै उनले पल्सर मोटरसाइकल, तरकारी ढुवानी गर्ने इलेक्ट्रिक रिक्सा, पावर टेलर खरिद गरेका छन् । उनले तरकारी विक्रि गरेरै घरछेउँमै केही जमिन खरिद समेत गरेका छन् । पक्की घर निर्माण गर्नका लागि जग समेत उनले हालिसकेका छन् । कृषक भागिरथले तरकारी विक्रिबाट आएको आम्दानीले घरका ४ जनाको जीवन विमा समेत गरेका छन् । उनले आफू सहित आफ्नो दुई श्रीमती र बुहारीको जीवन विमा गराएका छन् । जीवन विमा गर्दा बुझाउने रकम समेत उनले तरकारी विक्रिबाटै तिर्छन् ।

ग्रामिण किसानका सवाल




 खगेन्द्र दाहाल 
नेपालगञ्ज  /  शहरी भेगका किसानहरु आधुनीक कृषि औजार र विभिन्न संयन्त्रहरुको प्रयोग गरि कृषि पेसा अपनाइ रहेका छन् तर ग्रामिण भेगका किसानहरु उहि परम्परागत पाराले कृषि पेशा गरीहेका छन् । कृषकले मेहनत अनुसारको उत्पादन गर्न सकेका छैनन् । शहरका किसान टेक्टरले खेत वारी जोत्दा गाउँका किसान हलगोरुले पसिना वगाई खेतीपाती गरीरहेका हुन्छन् । मेहनत उत्तिकै हुन्छ तर राम्रो विउ र प्रयाप्त मलको अभाव, सिचाइ नहुनु लगाएतका समस्याले उत्पादनमा कमी हुने गर्छ ।

ग्रामिण स्तर सम्म कृषि सडकको विकास हुन नसक्दा पनि कृषकले आफ्नो क्षमतालाई फराकिलो बनाउन सकिरहेका छैनन् ।


      अधिकास किसान परम्परागत तबरले खेती गर्छन । अझ भनौ ग्रामिण स्तरका किसानले आधुनिक खेती भनेको के हो भन्ने नै बुझेका छैनन् । त्यहि पुरानो विउ, पुरानै लगाउने तौर तरीका अपनाएका पाइन्छन । जसले गर्दा कृषिमा उत्पादन बढाउन सकिरहेका छैनन् । ग्रामिण स्तरका साना कृषक सम्म कृषि सम्बन्धीत काम गर्ने निकाय पुग्न सकेका छैनन् जसका कारण कृषकको अवस्था ज्युँको त्युँ रहेको पाइन्छ । खाद्य अधिकारमा कृषकको पहुँच पुगिरहेको छैन । साना किसान त्यसमाथि भुमिहिन धेरै छन । खेती किसानि गरेर जिविको पार्जन गर्छु भन्नेहरुलाई आवश्यक जमिन उपलव्ध छैन । वर्षभरी लगाएको खेतीलाई आफैले उपभोग गर्न पाइरहेका छैनन । खुला सिमाना र बाढि पहिरोले गर्दा दिन प्रतिदिन किसानको जमिन ह्रास हुदै आएको पाइन्छ ।
जलवायु परिवर्तनका कारण कृषकले लगाएको खेतीमा वर्षेनी नोक्सानी बेहोर्न परीरहेको छ । खेतीयोग्य जमिनहरु वगर बनिरहेका छन । ग्रामिण स्तर सम्म सिचाई सुविधा पुग्न सकिरहेको छैन । सिचाई मिटर सबै कृषकले नपाउदा थप समस्या बनिरहेको छ । मल विउ भने जस्तो समयमै उपलव्ध भएका पाइदैन । सरकारी अनुदान पनि पहुँचवाला कृषकले मात्र पाइरहेका छन । ग्रामिण स्तरमा रहेका कृषकले जति कृषि जन्य बस्तु उत्पादन गरेपनि त्यसको उपयुक्त बजार र बजारभाउ पाउन सकेका छैनन् ।  ग्रामिण तहमा रहेका कृषकलाई माथि उठाउन सरकारी तथा ग्रैर सरकारी सघं सस्थाहरु कमै मात्रामा लागेका पाईन्छन । सरकारी सेवा सुविधा आएको गएको अत्तो पत्तो हुदैन । कृषकले भनेको बेला कृषि सामाग्री पाउन मुस्कील छ । कृषकले उत्पादन गरेको बस्तुको बजार राम्रो बन्न सकेको छैन । ग्रामिण स्तरमा जाने हो भने उपयुक्त सेवा सुविधा बाट बन्चितहुदाँका कारण जमिन बाझो रहने गरेको छ । कृषकको लागी सहज होस भनेर सरकारले धानको मुल्य खरीद गर्छ तर त्यो ग्रामिण कृषकले महसुस समेत गर्न पाएका छैनन । कृषकले धान व्यापारीलाई विक्रि गरीसकेपछि मात्र सरकारले खरिद मुल्य निर्धारण गर्ने चलन छ ।
ग्रामिण स्तर सम्म कृषि सडकको विकास हुन नसक्दा पनि कृषकले आफ्नो क्षमतालाई फराकिलो बनाउन सकिरहेका छैनन् । सरकारी अनुदान बाट प्राप्त विउ मलमा पनि त्रुटी भैरहदा कृषकले लगाएको बाली फस्टाएका छैनन् । साचिकै ग्रामिण स्तरमा रहेका कृषकलाई पनि कृषि क्षेत्रका सेवा सुविधाहरु पु¥याउन जरुरी छ । शहर मुखी भएको सेवा सुविधाहरु ग्रामिण मुखी हुनुपर्छ । कृषिमा विकास भएको आधुनीकीकरणका वारेमा गाउँका किसानहरुलाइ पनि जानकारी गराउन पर्छ । अनी मात्रै ग्रामीण भेगमा पनि कृषि उत्पादन वढ्छ र किसानहरु कृषि पेशामै आत्म निर्भर हुन सक्छन् ।