खगेन्द्र दाहाल
नेपालगञ्ज / घरमा खान लाउन मुस्किल हुँदा दिनहँु मजदुरी गरेर साँझ विहानको छाक टारे । १० जनाको परिवारलाई मजदुरी गरेर खान मात्र ठिक्क हुन्थ्यो । चाड पर्व आउँदा मिठो मसिनो खाने र राम्रो लुगा लगाउने रहर मनमै हराएर जाने गर्दथ्यो । यो परिस्थिति २०६८ साल अघिको हो, बाँके बनकटुवा पेडारीका भागिरथ थारुको । पहिले र अहिलेको कथामा आकाश पातालको फरक छ ।
तरकारी हाट बजारमा उनले ल्याएको तरकारी लिन हारालुस हुन्छ । अर्गानिक तरिकाले उत्पादन गरेका कृषक भागिरथले ३ कट्ठा क्षेत्रफलमा ९ वटा टनेल निर्माण गरी करेला, ४ कट्ठामा टमाटर, ३ कट्ठामा खुर्सानी, ३ कट्ठामा फुलगोभी, १ कट्ठामा मुला ४ वटा टनेलमा लौका र काँक्रो लगाएका छन । मजदुरी गरेर ल्याएको पैसाले घर खर्च चलाउनै कठिन भएपछि उनले तरकारी खेती गर्न थालेका हुन् । उनले एकै वर्षमा यति धेरै तरकारी लगाउन सक्ने भएका भने होइनन् । व्यवसायिक तरकारी खेतीमा अग्रणी देखिएका भागिरथले शुरुमा ५ कट्ठा क्षेत्रफलमा टमाटर, गोभी र खुर्सानी खेती गरेर तरकारी खेतीमा व्यवसायीकरण शुरु गरेका हुन् । अहिले कृषक भागिरथले १ विगाह क्षेत्रफलमा मौसमी र बेमौसमी तरकारी खेती गर्छन् । उनी गाउँकै अगुवा कृषकका रुपमा आफूलाई चिनाउन सफल छन् ।
होलसेलमा तरकारी विक्रि गर्ने गरेका भागिरथले करेला ६० रुपैयाँ किलो देखि २० रुपैया सम्म विक्रि गरिरहेका छन् ।
टनेल माथि करेला र तल टमाटर लगाएका भागिरथले यसबाट दोहोरो फाइदा लिने बताए । उनले अहिले खेती गरिरहेको १ विगाह क्षेत्रफललाई बढाएर थप १० कट्ठा क्षेत्रफलमा तरकारी लगाउने योजना बनाएका छन् । थप गर्न लागेको जमिनलाई उनले ‘लिज’मा लिएका छन् ।
No comments:
Post a Comment